नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा वायुसेवा निगमका क्याप्टेनविरूद्ध मुद्दा दर्ता

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आज काठमाडौंस्थित विशेष अदालतमा शाहविरूद्ध मुद्दा दायर गरेको हो । उनी २०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा जुनियर क्याप्टेनको रूपमा नियुक्त भएका थिए । पछि उनी आठौं तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भएर निगममा कार्यरत थिए । त्यसैबीच उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी अख्तियारमा परेको थियो । शाहले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ प्राइभेट परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए । अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।  झुटा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो । उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहोदा लिएको भन्दै उनलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया