जापानको नोटो प्रान्तमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प गएको छ । अनामिजु सहर नजिकै केन्द्रविन्दु भएर जापानको नोटो प्रान्तमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो । भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ । समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरिएको छ । नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको हो । जापानी टेलिभिजन एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ । सुरक्षाकर्मीले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन । ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ । भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन । जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने अनुमान गरिएको छ । जापान सरकारका प्रवक्ता योशिमासा हयाशीले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्पका लागि तयार रहन चेतावनी जारी गरेको छ ।जापानको सबैभन्दा ठूलो परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरूमा भने अस्वाभाविक गतिविधिहरू नदेखिएको बताइएको छ । सुनामीको छाल दक्षिण कोरियाको पूर्वी तटमा समेत ठोक्किने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया