बालकुमारी घटना छानविन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन

अध्ययनका लागि एक महिने समयसीमा

सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललितिपुर महानगरपालिका वडा नम्बर आठ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन । आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । 
आयोगलाई घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने जिम्मेबारी दिइएको छ ।  त्यस्तै आयोगले बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्नेछ । आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरु पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने बताइएको छ । 
 

प्रतिक्रिया