प्रधानमन्त्री कप क्रिकेट: एपीएफद्वारा कर्णाली प्रदेश ९२ रनले पराजित

कोशीले गण्डकीलाइ हरायो

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले आफ्नो विजयी यात्रा जारी नै राखेको छ । आज विहान कीर्तिपुरस्थित मैदानमा भएको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । हालसम्म पाँच खेल खेलेको एपीएफ क्लबले पाँच खेलमै जित हात पारेको छ । एपीएफ क्लब १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । पाँच खेल खेलेको कर्णाली प्रदेशले भने आफूले खेलेका सबै खेलमा हार ब्यहोरेको छ । कर्णाली प्रदेश सबै खेलमा पराजित हुने एकमात्र टोली हो । आजै मुलपानीमा भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हराएको छ । चौथो जितका साथ कोशीले प्लेअफ सम्भावना लगभग पक्कापक्की बनाएको छ । जितको लागि १ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा अल आउट भएकोहो ।  आठ टोली सहभागी प्रतियोगितामा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।
 

प्रतिक्रिया