प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटर पक्राउ

बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको हो । भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका–३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसमेत बरामद गरेको छ । गत कात्तिक १३ गते बाराको कलैयामा प्रिन्सिपल स्वर्णकारमाथि गोली हानी हत्या गर्ने मुख्य सुटर भारत, बिहार छौडादानोंका सिंह रहेको प्रहरीको भनाइ छ । उनीमाथि हत्याका विभिन्न अभियोग रहेको प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया