पर्साका नाका हुँदै तस्करी बढेको सीमा क्षेत्रका बासिन्दाको गुनासो

पर्साका नाका हुँदै तस्करी बढेको सीमा क्षेत्रका बासिन्दाले गुनासो गरेका छन । नेपाल भारतको मुख्य नाका भनेर चिनिने वीरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट निर्वाध समान ओहोरदोहोर भैरहदा पनि प्रशासनले चासो नदिएको स्थानीयको भनाइ छ । राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले समेत यसरी हुने तस्करीमा चासो नदेखाउदा करोडौं राजस्व गुमिरहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ । भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरेपनि सीमा नाका हुँदै निर्वाध भित्रिने गरेको छ । भारतीय कपडाहरु खुलेयाम तस्करी भई वीरगंज बजारसम्म पुग्ने गरेका छन । सीमावर्ती सहर रक्सौलबाट विना भन्सारका लाखौं बराबरको कपडा दिनहुँ वीरगन्ज भित्रिरहेको हो । नगवाको नयाँ वस्तीमा तस्करहरुले रक्सौलवाट ल्याउने सामानको गोदाम नै राख्ने गरेको स्थानीयको भनाइ छ । त्यस्तै कुम्हालटोल ६ नम्बर गेट हुँदै   कपडाहरु खुलेयाम वीरगञ्ज आउने गरेको छ । तस्करहरुले रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म सामान भित्राउने गरेको सीमा क्षेत्रका बासिन्दाको आरोप छ । यसरी सामान भित्राउदा प्रहरीले भने चासो नदिने गरेकाले मिलेमतोको आशंका गरिएको छ । दशैता ,पाडेपूर , महादेब पट्टी, बिजय बस्ती नाका हुदै चौपायाको पनि तस्करी हुने गरेको छ । 
 

प्रतिक्रिया