१४ किलो सुन प्रकरण:  मीनबहादुर समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेको समूहले १ सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।  भन्सार विभागले गठन गरेको समितिले आज छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १ सय ३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको हो । समितिका अनुसार घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए । मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको समितिले जनाएको छ । 
समितिले अध्यागमन कार्यालयले यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउन, भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न, सवारी साधन विमानस्थलको सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र राख्न नदिन, सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर राख्न सुझाव दिएको छ । आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवत जावत बन्द गर्न पनि आयोगको सुझाव छ । विमानस्थलमा सेटिङ मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेको र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको समितिको ठहर छ । विमानस्थलबाट बाहिर निकालिसकेपछि सुन काठमाडौंको टोखा नगरपालिका बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पु¥याउने गरेको समितिले जनाएको छ । मंसिर २२ मा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका घले पनि पक्राउ परेका थिए ।त्यसपछि छानबिन समिति गठन भएको थियो ।
 

प्रतिक्रिया