धनुषा हंसपुरमा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनाव

स्थानीयले चौकी तोडफोड गरेपछि प्रहरीद्वा हवाइ फायर

धनुषाको हंसपुर नगरपालिका–५ मा रहेको प्रहरी चौकीमा तोडफोड भएको छ । दुई समूहको विवाद पश्चात प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी आज तोडफोड गरेका हुन । सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गर्नुका साथै लाठीचार्ज गरेको हो । प्रहरीले बल प्रयोगगर्दा शिवशंकर मण्डल घाइते भएका छन । उनको एउटा हातमा चोट लागेको छ । हंसपुर नगरपालिका–५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीप नारायण मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिएका थिए । उपचारको क्रममा उनको मृत्यु भएपछि विवाद बढेको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया