चीनमा देखिएको कडा निमोनिया रोकथामको तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन

चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको जनाएको हो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरेको छ । श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको मन्त्रालयको भनाइ छ । निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् । चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको छ । नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाईपनि निर्देशन दिईएको छ ।। 
 

प्रतिक्रिया