१४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको हो । छानबिन समितिले त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र रमेश देउलालाई पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारी तथा प्लम्बरहरु छन् । यसअघि सो प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको थियो । सुन प्रकरणमा छानबिनका लागि अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । गत मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गर्दा गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले र उनको बयानका आधारमा गोरखाकै मीनबहादुर घलेलाई नियन्त्रणमा लिएको थियो । दुबईबाट ल्याइएको उक्त सुन आगमन कक्षको डस्टविनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको खुलासा भएको छ ।। 
 

प्रतिक्रिया