भ्रमण भिसामा विदेश जान लागेका २४६ जनाको कागजात नक्कली

भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सयभन्दा बढी युवाको कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको प्रहरी अनुसन्धानमा देखिएको हो । शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो। सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयले जनाएको छ ।  कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ, भन्ने विषयमा गहिरो अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित, एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिव्यक्ति  १० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति  ४० देखि ५५ हजार दिएर मिलेमतोमा मिलाइ पठाउने देखिएको छ । सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई  पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरमा प्रहरीले कारबाही अघि बढाएको छ । 
 

प्रतिक्रिया