पूर्व गृहमन्त्री  खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो । नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । विभागबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरुलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाण्डौले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो ।  
 

प्रतिक्रिया