१४ किलो सुन प्रकरणमा विमानस्थलका सफाइ कर्मचारी पक्राउ

१४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइचरलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई छानविन समितिले नियन्त्रणमा लिएको हो ।  मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाक थ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेपछि छानविन समितिले सुपरभाइजरलाई पक्राउ गरेको हो । सरकारले सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले यसअघि नै त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ । सुन ल्याउने चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया