वैदेशिक रोजगारीबाट २३ करोड भन्दा बढी ठगीकाे उजुरी

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा वैदेशिक रोजगारीबाट २३ करोड रुपियाँभन्दा बढी ठगी भएको दाबीसहित उजुरी परेका छन् । विभागमा सो अवधिमा ८ सय ६१ वटा उजुरी परेका छन् । उजुरीमध्ये २३० वटामा मिलापत्र हुँदा पीडितले चार करोड १५ लाख रुपियाँ फिर्ता तथा क्षतिपूर्ति पाएको वैदेशिक रोजगार विभागले जनाएको छ । जसमा संस्थागततर्फ २ सय ६९ र व्यक्तिगततर्फ ५ सय ९२ रहेका छन् । विभागका अनुसार विभागमा सो अवधिमा संस्थागत उजुरीतर्फ १६२ वटा मिलापत्र गराएबापत दुई करोड ९२ हजार रकम फिर्ता गराउन सफल भएको छ भने व्यक्तिगत उजुरीतर्फका ६८ वटा उजुरीमा मिलापत्र गराएबापत दुई करोड १४ लाख ९६ हजार रुपियाँ फिर्ता गराएको छ । विभागका अनुसार चालु आवमा व्यक्तिगतका ५ सय ९२ वटा उजुरी आएकामा ६० वटा मुद्दा अदालतमा दायर भएका छन् । जममा अधिकांश व्यक्तिगत ठगीविरुद्धका रहेका छन् भने चार÷पाँच वटा कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका रहेका छन् ।  विभागले वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेका, अलपत्र परेका, सम्झौताबमोजिमको काम र तलब सुविधा नपाएका श्रमिकलाई सहयोग गर्दै आएको छ । पछिल्लो सात महिनाको अवधिमा ३२ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन ।यस अवधिमा विभागले ३२ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, १६ वटाको इजाजतपत्र निलम्बन र दुई म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।। 
 

प्रतिक्रिया