साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट जनकपुरमा सुरू

सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ ।आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ । दोस्रो दिन फूलबारी लीला विवाह मण्डपको फूलबारीमा, तेस्रो दिन धनुषयज्ञ रंगभूमि मैदानमा, चौथो दिन तिलकोत्सव राम मन्दिर परिसरमा र पाँचौँ दिन मटकोर गंगासागर पोखरी घाटमामा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा कार्यक्रम तय गरिएको छ । विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा÷मासु बिक्री वितरण गर्न निषेध गरिएको छ । 
 

प्रतिक्रिया