अपाङ्गता भएकाहरुको माग सम्बोधन गर्न सरकार लागिपरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेसम्म बन्न नसकेका अपाङ्गतामैत्री नीति, नियम र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । आईतबार ३२औँ अपाङ्गता दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गरी सरकार नीति नियमहरु बनाउने तयारीमा रहेको बताएका हुन् । उनले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भिर भएर लागिरहेको पनि बताए । मन्त्री ज्वालाले सरकारले बनाउने १६औं योजनामा अपाङ्गता भएकाहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए । 
अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नारा सहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालय लगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।

प्रतिक्रिया