आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भब्य मेला

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।  आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया