अस्ताउँदो सूर्यलाई पूजा आराधना,अघ्र्य दिइ छठ पर्व मनाइदै

पूजाका लागि छठ घाटहरु झकिझकाउ

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपसाना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्व विशेष गरी मध्य र पूर्वी तराईका साथै काठमाडौ उपत्यकामा समेत उमंगका साथ मनाईन्छ । यसक्रममा बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी र मोरङ लगायतका जिल्लाका मुख्य नदी र पोखरीलाई छठ पूजाका लागि सिंगारिएको छ । ब्रतालुहरु आज साँझ नदी र पोखरीका किनारमा बसेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गर्दछन् । यसैगरी काठमाडौ उपत्यकाको गुह्येश्वरी, नागपोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठ पर्व भोलि उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । छठमा ब्रता बसी उर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ ।
 

प्रतिक्रिया