छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

एन्जेला सिंङ श्रेष्ठ 
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै

काठमाडौं । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बस्ने चलन छ । बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने चलन छ । दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन विहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गर्दछ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्दछन् । छठ पर्व मनाउनेहरूले पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटहरुमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ घाटहरुलाई सिंगारेर झकिझकाउ पारिएको छ ।
 

प्रतिक्रिया