यमपञ्चकको अन्तिम दिन आज भाइटीका

यमपञ्चकको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १० बजेर ५१ मिनेटमा उत्तर रहेको  नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ ।।
 

प्रतिक्रिया