आज गाईतिहार, देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदै

कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार,आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ । यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ । आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ । आज बिहान गाईको पूजा गरिँदैछ । ‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो ।  आज २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ ।  गत वर्ष पनि यस्तै परेको थियो ।  अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र डोरो गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया