तिहार लक्षित पैतालिस करोडका झिलिमिली बत्ती आयत

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।  नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।  महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । महासङ्घका अनुसार यो वर्ष बजारमा थोक मूल्य १७५ देखि २५ हजार रुपियाँसम्मका झिलिमिली बत्ती उपलब्ध छन् । व्यवसायी अनुसार तिहारमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग हुने गरेको छ । बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटल, रेस्टुराँ र सडकलगायतका स्थानमा झुन्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ । १० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १२० देखि १५० रुपियाँसम्म मूल्य तोकिएको छ । दुई सय वटा लिड बत्ती भएको २० मिटरलाई २५० देखि २७० रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । तिहारको समयमा लिड  बत्ती, डिस्को बत्ती, ६० लिड, एक सय लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट, पाइप लाइटको व्यापार झन्डै ८० प्रतिशतले वृद्धि हुने गरेको छ ।। 

प्रतिक्रिया