आज कुकुर तिहार

सुरक्षा गर्ने कुकुरलाई आज घरघरमा पूजाआराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने भएकाले आज विहान परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो । परापूर्व कालमा कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।
 

प्रतिक्रिया