यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीहरूको दोस्रो ठूलो चाड यम पञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । यम पञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यम पञ्चक सुरु भएको बताए । सायमकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो । यम पञ्चकका अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०बजेर ५१ मिनेटमा रहेको समितिले जनाएको छ ।

काग सम्मेलन 

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरु धेरै नआएको बताए । कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाएका थिए । 

हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया