पछिल्ला चार दिनमा दुई हजार डेंगुका नयाँ बिरामी फेला

चिसो बढेपनि डेंगु संक्रमण भने अझै घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा देशभर करिब दुई हजार डेंगुका नयाँ बिरामी फेला परेका छन । सामान्यतया मनसुन बाहिरिएर चिसो शुरु भएपछि कम हुँदै जाने गरेको पाइए पनि यो वर्ष झन् बढ्दै गएको छ ।  हरेक वर्ष डेंगु सामान्यतया नेपालमा जेठदेखि भदौसम्म तीव्र गतिमा फैलिएर असोज लागेपछि बिस्तारै ओरालो लाग्ने गरेको थियो ।  महाशाखाका अनुसार कात्तिक ४ गते सम्म देशभर ४०  हजार ५३१ जना डेंगुका बिरामी रहेकोमा हिजोसम्म त्यो संख्या ४१ हजार ८ सय ५७ जना पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन । चार दिनअघिसम्म काठमाडौंमा ९ सय १० जना संक्रमित रहेकोमा अहिले बढेर ९ सय ६१ जना पुगेको छ । हाल सुनसरीमा १६ हजार १०५ जना संक्रमित रहेका छन भने यो जिल्लाको संक्रमणदर हाल जम्मा ३८.५ प्रतिशत रहेको छ ।  यस्तै हाल देशभरका ११ जिल्ला डेंगु संक्रमितको अतिप्रभावित छन । गण्डकी प्रदेशको तनहुँ र कास्कीमा डेंगुका बिरामी बढिरहेका छन् । डैंगुकै कारण गतबर्ष ८८ जनाले ज्यान गुमाएका थिए । यो वर्ष जुनयता हालसम्म  २० जनाको ज्यान गैसकेको छ । 

प्रतिक्रिया