विजया दशमीको दोस्रो दिन, टीका लगाउने क्रम जारी

विजया दशमीको शुभसाइत सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको दिन मात्र टीका लगाउने चलन छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । दशैँको टीका लगाउन सर्वसाधारण आफन्तहरुकोमा जाने क्रम शुरु भएसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।  घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएसँगै केही दिन सुनसान जस्तै बनेको उपत्यकामा चहलपहल बढेको हो । विजया दशमीका दिन देखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्ने गरिन्छ । त्रेता युगमा भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया