बडादशैंको सातौं दिन: दशैंघर लगायत घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैं आज घर घरमा फूलपाती भित्र्याएर मनाइदैछ । घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पुजाआजा गरिएको दशैंघर अथवा पुजाकोठामा शुभसाइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत फुलपातीका रुपमा भित्र्याउने गरिन्छ । नौ पातमा क्रमशः बहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामु्ण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पुजा पनि गरिन्छ । गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै फूलपाती आजै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, आशगुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, र सास्कृतिक नाचगानसहितको लावालस्करले गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदैं काठमाडौंको जमलसम्म ल्याउने विधिपूर्वक फुलपातीलाई हर्षबढाइका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ । आजै देवी दुर्गाको सातौं स्वरुप कालरात्रीको विशेष पुजा उपासना गर्ने चलन छ । आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ भने कृषकहरुले खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने चलन छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्छ । नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ । 
 

प्रतिक्रिया