बडा दशैंको छैटौं दिन: कात्यायनी देवीकोे पूजाआराधना

बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआराधना गरिदैँछ । देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा गरिन्छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन शैलीपुत्री, दोस्रो दिन  ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघन्टा चौँथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्दमाताको पूजा गरिसकिएको छ । सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।

प्रतिक्रिया