दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजाअर्चना गरिँदै

दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजाअर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डा देवीलाई उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आरधना गरेमा ज्ञान प्राप्त हुनुका साथै कुनै पनि प्रकारका वाणीमा रहेको दोष हट्ने मान्यता छ । कुष्माण्डा देवीको पूजाआजा गर्नाले ढिलो वाक्य खुल्ने बालकहरूका लागि पनि उपयोगी हुने विश्वास छ । आजै मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने धार्मिक विश्वास छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर–घरमा घटस्थापना गरेसँगै नवरात्र सुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।।

कोशी मुख्यमन्त्री 

प्रतिक्रिया