दशैं सुरु भएसँगै तराई मधेसका शक्तिपीठमा घुइँचो

दशैं सुरु भएसँगै तराई मधेसका  शक्तिपीठमा भिड बाक्लिएको छ । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् । राजविराजको छिन्नमस्ता भगवती मन्दिरमा निशा र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुने गरेको छ । सप्तरीको भारदहस्थित प्रसिद्ध शक्तिपीठमध्ये कङ्कालिनी भगवती मन्दिरमा नवमीका दिन करिब हजारको सङ्ख्यामा राँगाको बलि चढाइन्छ । राजदेवी माताको मन्दिरमा पनि सयौँको सङ्ख्यामा पशु बलि प्रदान गरिन्छ । जनकपुरधामको सबैभन्दा प्राचीन राजदेवी मन्दिरलाई मिथिलाका जनकवंशी राजाहरूको कुलदेवी मानिन्छ । वीरगन्जको गहवामाई भगवती मन्दिरमा पर्सा, बारा, रौतहटलगायत भारतको विहार राज्यबाट समेत दर्शनार्थी पुग्ने गरेका छन । प्रसिद्ध पञ्चवर्षीय मेला लाग्ने नेपालकै सबैभन्दा धेरै पशुबलि दिइने बाराको गढीमाईमा दसैँको समयमा भने बलि दिइँदैन । रौतहटको राजदेवी र दुर्गा भगवती गाउँपालिकास्थित मत्सरीको भगवती मन्दिरलाई दशैंमा पुजाका लागि विशेष मानिन्छ । 
 

प्रतिक्रिया