नेपालीको महान चाड बडादसैं आजदेखि सुरु, घरघरमा जमरा राखिदै

आज घटस्थापना दशैं सुरू नेपालीहरूको महान् पर्व बडादसैं आजबाट सुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर २९ मिनेटको शुभसाइत तोकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ, । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत् रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरिने चलन छ ।यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । 
 

प्रतिक्रिया