दसैंलाई लक्षित गरेर यो वर्ष उपत्यकामा करिब ५० हजार खसी, बोका बिक्री गर्ने तयारी

काठमाडौं । दसैंलाई लक्षित गरेर यो वर्ष उपत्यकामा करिब ५० हजार खसी, बोका बिक्री गर्ने तयारी रहेको छ । व्यापारी, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ हजार खसी, बोका र करिब ५ हजार च्याङ्ग्रा ल्याउन लागेका हुन । विभिन्न जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा राजधानी ल्याउन सुरु भएको काठमाडौं चौपाया खरिद बिक्री संघले जनाएको छ । व्यापारीले करिब ४५ हजार खसी, बोका ल्याउन विभिन्न जिल्लामा खरिद गरिसकेका छन । आइतबारवाट उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री गर्ने व्यापारीको तयारी छ । यो बर्ष जिउँदो खसी प्रतिकिलो ६ सय ६९ देखि ६ सय ९० रूपैयाँ किलोमा बिक्री गर्ने व्यापारीको तयारी छ । काटेको मासु किलोको १३ सय रूपैयाँ पर्ने बताइएको छ । च्याङ्ग्राको मासु जिउँदो १२ सय ५० रूपैयाँ किलोमा बिक्री गर्ने तयारी छ । खाद्य व्यापार कम्पनीले दुई हजार खसी र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । कम्पनीले दसैंमा सहुलियत दरमा खसी, च्याङ्ग्रा बिक्री गर्न आठ करोड ३३ लाख ४० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । बजारको भन्दा ५० रूपैयाँ सस्तोमा खसी, बोका बिक्री गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया