सुशासन र विकासका लागि अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताएका छन् ।

रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सव कार्यक्रममा बोल्दै उनले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानुन निर्माणका लागि भएको स्पष्ट पारेका हुन् ।

उनले भने, “अध्यादेश जनताको अधिकार खोस्न ल्याइएको होइन, देशको सङ्कट चाँडो समाधान गर्न ल्याइएको हो । विद्यमान कानुनमा सुधार गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई ध्यानमा राखेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न ल्याइएको हो ।”

अध्यादेश संसद्बाट पारित गर्ने भएकाले संसद्लाई छल्ने कुरै नहुने उनको भनाइ थियो । उनले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानुनले चलिरहेकाले छिटो कानुन ल्याउन अध्यादेश ल्याएको बताए ।

साथै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र रोक्नका लागि कानुन ल्याउनुपरेको उल्लेख गरे ।

प्रतिक्रिया