गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार
काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध गरेको छ ।
संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशहरूमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ ।
ट्रम्पले ह्वाइट हाउसमा वार्ताका लागि आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरेको हो ।
बीस लाखभन्दा बढी प्यालेस्टिनीलाई कसरी बाहिर निकाल्ने वा गाजालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा विवरण नभएको प्रस्तावमा, ट्रम्पले नफुटेका बम र भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने बताए ।
“अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिनेछ र हामी यससँग काम पनि गर्नेछौँ, हामी यसको स्वामित्व लिनेछौँ”, ट्रम्पले भने । उनले इजिप्ट र जोर्डन दुवै सरकारले यो विचारलाई स्पष्ट रूपमा अस्वीकार गरे पनि मध्यपूर्वमा ‘सर्वोच्च नेतृत्व’ बाट समर्थन भएको र ती दुई मुलुकलाई गाजावासीहरूलाई लिन दबाब बढाएको बताए।
संयुक्त राज्य अमेरिकाद्वारा ‘दीर्घकालीन स्वामित्व’ को सुझाव दिँदै ट्रम्पले उनको विचारले यसलाई ‘मध्य पूर्वको रिभेरा बनाउनेछ । यो केही यस्तो हुन सक्छ जुन अति भव्य हुन सक्छ’ भने ।
“अमेरिकी जातीय दृष्टिकोण हाम्रा मानिसहरूलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ”, हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले एक वक्तव्यमा भने ।
गाजाको धेरै भाग हमासको सन् २०२३ अक्टोबरको इजरायलमाथिको आक्रमणले प्रेरित १५ महिने युद्धमा तहसनहस भएको थियो र ट्रम्पले गत महिना लागू भएको युद्धविराम सम्झौता गर्न श्रेय लिएको छ ।
नेतन्याहु ट्रम्पको सत्तामा फर्केपछि ह्वाइट हाउसमा भ्रमण गर्ने पहिलो विदेशी नेता हुनुहुन्थ्यो जसलाई युद्धविरामको दोस्रो चरण सुरक्षित गर्ने वार्ताको रूपमा प्रस्तुत गरिएको थियो । रासस
प्रतिक्रिया