महिला क्रिकेटः नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो ।

नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले अविजित   सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन् ।

त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन् । 

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले  समान एक–एक विकेट लिए । 

नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । पाँच खेलमा छ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ ।

 अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
 

प्रतिक्रिया