रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा हुँदै

काठमाडौ। चितवनको साहारा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गसहमन्त्री रवि लामिछानेको मुद्दामा बयान शुरु भएको छ ।

लामिछानेमाथि लागेको मुद्दाको बयानका लागि  जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।लामिछाने आजै अदालतमा बयानका लागि उपस्थित भएका थिए ।

लामिछानेविरुद्ध मंगलबार चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुनेछ  । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

साहारा चितवन बहुउद्येश्यीय सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उनीमाथिको अभियोग पत्रमा उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । 

हाल जाहेरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ ।  ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप  १४ करोड २३ लाख छ हजार एक सय ३१  दशमलव ४७ रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी मागदावी गरिएको छ । 

प्रतिक्रिया