बर्दघाट–सुस्तापूर्वमा सुन्तला उत्पादनमा वृद्धि

नवलपरासी। नवलपरासी बर्दघाट–सुस्तापूर्वमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । यस वर्ष जिल्लाबाट आठ करोड ८० लाख ८२ हजारको सुन्तला बिक्री भएको छ । गतवर्ष जिल्लाले  सात करोड १७ लाख ७९ हजार पाँच सयको सुन्तला बिक्री भएको थियो । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागू भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा समेत वृद्धि भएको छ । त वर्षसम्म जिल्लाको कुल दुई सय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा एक सय ४१ हेक्टर क्षेत्रफलबाट मात्रै आम्दानी लिन सुरु गरिएको थियो । अघिल्लो वर्ष जिल्लामा एक हजार दुई सय २७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएकोमा यस वर्ष एक हजार चार सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस वर्ष जिल्लामा सुन्तला खेतीको क्षेत्रफल बढेर दुई सय ५६ हेक्टर पुगेकोमा एक सय ६१ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन सुरु भएको हो ।  जोन लागू भएको ठाउँका किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोगसमेत पाउने भएकाले पहाडी क्षेत्रमा अन्य खेतीको तुलनामा किसानहरु सुन्तलातर्फ आकर्षित भएका छन । जिल्लाको बौदिकाली गाउँपालिका, बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा तीन हजार दुई सय किसानले व्यवासयिक सुन्तला खेती गरेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।। 
 

प्रतिक्रिया