निजी क्षेत्रको बक्यौता तिर्न सरकारलाई सांसद शुक्लाको सुझाव

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लाले निजी क्षेत्रको रु ५० अर्ब बक्यौता तिर्न नसकिएकाले समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

संघीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारी दायित्व र बक्यौताको यथाशीघ्र भुक्तानी हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले अर्थतन्त्रमा सुधार भएको भनिए पनि धरातलमा जनताले महसुस गर्न नसकेको बताए । भन्छन्, “अर्थतन्त्र सुधार भएको भन्ने तथ्याङ्क त छ तर यो कतै मिथ्याङ्क त होइन ? निजी क्षेत्र सङ्कटमा गइरहेको छ । लगानीको वातावरण छैन । जबसम्म निजी क्षेत्र लगानीका लागि उत्साहित हुँदैन तबसम्म अर्थतन्त्र चलायमान हुँदैन ।”

बैंकमा निक्षेप बढी भएको पैसा लगानी नभएसम्म अर्थतन्त्र चलायमान नहुने उनको भनाइ छ । उनका अनुसार ग्रामीण अर्थतन्त्र चलायमान गर्नका लागि सहकारी क्षेत्रको सुधार गर्नुपर्ने छ ।

सुक्लाले पर्यापर्यटन क्षेत्रको सुधारका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए । लगानीको उचित फाइदा नभएसम्म ऋणात्मक बोझ बढ्ने र धनात्मक अवस्था कम हुने उनको भनाइ छ ।

प्रतिक्रिया