अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने छैन् : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अध्यादेशको कन्टेन्टको आधारमा बिरोध र समर्थन गर्नुपर्ने बताए । उनले काँग्रेसले विगतमा पनि सरकारले ल्याएको विधेयकलाई प्रतिपक्षमै रहेर सहज रुपबाट पारित गर्न सघाएको भन्दै कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गर्ने बताए ।
उनले भने, ‘अध्यादेश हो भन्ने बित्तिकै गलत हुँदैन । विधेयक हो भन्नेबित्तिकै सही नै हो भनिहाल्नुपर्छ भन्ने पनि हुँदैन । अध्यादेश विगतमा हामीले बिरोध गरेका थियौँ, अहिले बोलेन भन्नेकुरा पनि छ । विगतमा नेपाली काँग्रेसले अध्यादेशको बिरोध गरेको उदाहरण पनि छ । नेपाली काँग्रेसले विपक्षमा रहेको बेलामा सरकारले ल्याएको अध्यादेशलाई सहज ढंगले पारित गर्न सघाएको उदाहरण पनि छ । अध्यादेश हो त्यसको बिरोध गरौँ भन्ने किसिमले हेर्नु हुँदैन । कन्टेन्ट गलत भए सरकारमा हुँदा पनि बिरोध गरिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर राष्ट्रिय सभामा जुन विधेयक दर्ता गरेको छ, त्यो विधेयकको विपक्षमा स्पष्ट रुपमा बोल्छु ।’
महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानूनी प्रवन्ध जरुरी रहेको बताए । सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको उनको धारणा छ ।
प्रतिक्रिया