‘अर्जुन ट्रफी’ खेल्ने बैतडी टोलीको घोषणा
बैतडी । धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी’ टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ ।
बैतडीको दशरथचन्द एकेडेमी भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिसकेका खेलाडीलाई टोलीमा सम्मिलित गराइएको छ ।
टोलीमा अमरसिंह रौटेला, दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खडक बोहोरा, दीपक बोहोरा, प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दीपक चन्द, लोकेश चन्द, सुमित बुडाल र सल्लाउद्धिन खान रहेका छन् । टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा जीवन शाही रहेका छन् ।
बैतडीले आफ्नो पहिलो खेल यही माघ २० गते सिवाईसी अत्तरियासँग खेल्ने छ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा उल्लेखनीय योगदान दिएका अर्जुन खड्काको स्मृतिमा ‘अर्जुन ट्रफी’ आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा देशभरका आठ टोलीको सहभागिता रहने छ ।
प्रतिक्रिया