प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु

काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गरे । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

आजको बैठकको शुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ । त्यस्तै, अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेस हुने कार्यसूची छ । 
      
अधिवेशनको पहिलो दिन सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ बैठकमा पेस हुने जनाइएको छ । 
रासस 

प्रतिक्रिया