नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा

ललितपुर । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

राजदूत मायदाले भने, “हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।”

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे ।

‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया