मनाङका किसान सामूहिक खेतीमा आकर्षित
मनाङ । जिल्लाका किसानहरु सामूहिक खेती तर्फ आकर्षित भएका छन्। खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेती तर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित खाद्यवस्तु जिल्ला भित्रै खपत हुने हुँदा सामूहिक खेती तर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताए । “मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ”, उनले भने, “यसले हामीलाई उत्साहित बनाएको छ ।”
उनका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उनी बताउछन् ।
सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका–१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताए । उनले भने, “बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्र बाट अनुदान पाइने भएकाले सहज भएको छ ।” सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउन समेत सहयोग पुगेको उनको बुझाइ छ ।
यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासोँ गाउँपालिका–१ तालगाउँ, नासोँ–२ नाचे गाउँ, नासोँ–३ खोत्रोपाखा र निगालाघारी, नासोँ–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थानचोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूह मार्फत सामूहिक खेती भइरहेको छ ।
यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडी लगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्न बाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।
रासस
प्रतिक्रिया