पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र
गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ ।
आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।
तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १०.०८ र कास्कीमा ४.३९ किमि र तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि र कास्कीमा ६.०७ किमि सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि गरी कुल १०.३६ किमि सडक कालोपत्र हुन बाँकी रहेको नेपालले बताए ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो ।पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगन गौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।
वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । कोभिड–१९ महामारी लगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ ।
३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु. सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।
पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले रु. छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।
रासस
प्रतिक्रिया