निर्दोष बालबालिका पनि कारागारमा

बागलुङ ।  जिल्ला कारागारमा आमा सँग बालबालिका बस्न बाध्य भएका छन् ।  बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा  छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छन् । 

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौंमा पक्राउ परेकी थिइन् ।

सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिना पछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिना देखि छोरालाई आफू सँगै कारागारमा राख्दै आएका छन् । 

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनी सँगै उनकी २ वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन । 

पाँच वर्ष भन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमा सँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए । 
रासस 

प्रतिक्रिया