भ्रष्टाचार मुद्दाका दोषीले थुना बाहिरै बसेर मुद्दा लड्न पाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्तिले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला जारी गरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू विनोद शर्मा, अब्दुल अजीज मुसलमान, सुनिल कुमार शर्मा र नृपध्वज निरौलाको इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका रुद्रप्रसाद दाहालको मुद्दामा यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतले यसका लागि केही शर्त तोकेको छ । सर्वोच्चले दोषी ठहर भएको व्यक्ति ६ महिना थुनामा बसेको हुनुपर्ने र उसले अदालतको अनुमति बेगर विदेश जान नपाउने गरी राहदानी रोक्का राख्ने शर्तमा थुना बाहिरै रहेर मुद्दा लड्न पाउने व्यवस्था गरेको हो ।

अब अन्य मुद्दामा पनि यो फैसलाको पालना गरिनेछ । यसअघि सर्वोच्चले जिल्ला अदालत हुँदै उच्च अदालतबाट सर्वोच्च आएका प्रतिवादीहरूको हकमा थुनामा रहेर ६ महिनाभित्र फैसला नभए धरौटी वा तारेखमा रिहा भएर मुद्दा लड्न पाउने फैसला सुनाएको थियो ।

यातायात व्यवस्था विभागका कर्मचारीसहित केही भ्रष्टाचार मुद्दामा ५ वर्षभन्दा माथि कैद भएका प्रतिवादीहरूले आफूहरूले पनि थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए ।

उक्त निवेदक संयुक्त इजलासबाट विस्तृत व्याख्याका लागि बृहत् पूर्ण इजलासमा गएको थियो । प्रधान न्यायाधीश राउतसहित संलग्न बृहत् पूर्ण इजलासले यो विवादमा २०८१ पौष २६ मा थुना बाहिरै बसेर मुद्दा लड्न पाउने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ हालैमात्र सार्वजनिक भएको छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ:

प्रतिक्रिया