कोशी प्रदेशसभा बैठकमा ‘खानेपानी तथा सरसफाइ’ सम्बन्धी विधेयक स्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ ।

उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गरेका हुन् । सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

 –शून्य समय–
यसअघि शून्य समयमा मुलुकको समसायिक विषयबारे प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राखेका थिए । 

–विशेष समय–
यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताए । उनले समृद्धिको आधार शिक्षा नै भएकाले दक्ष तथा योग्य जनशक्ति उत्पादन गर्न स्पष्ट शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गरे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन किराँतीले सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने सुझाव दिए । उनले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको उल्लेख गरे ।

यसैगरी नेपाली कांग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताइन् । उनले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको माग अनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमका जोड दिइन् ।

कोशी प्रदेशसभाको अर्को बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया