सामाजिक सञ्जालमा फेक आईडी बनाए ५ वर्ष कैद, नियम उल्लघंन गरे दोब्बर सजाय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरेको छ ।

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

दर्ता भएको उक्त विधेयकमा कानुन विपरीत काम गरे वा कसुर गर्नेलाई तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट रूपमा लेखिएको छ ।

विधेयक मस्यौदाको दफा २७ को उपदफा ३ मा कसैले प्लेटफर्ममा व्यक्तिगत वा सामूहिक रूपमा फेक ह्यान्डल, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्न नहुने उल्लेख छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पिच’ मानिने कार्य गर्न नहुने व्यवस्था गरेको छ ।

यस्तै, भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार गरेमा समेत कारबाहीको भागिदार हुनुपर्ने व्यवस्था विधेयकमा छ । प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार सामाजिक सञ्जालमार्फत गर्न नपाइने व्यवस्था पनि विधेयकमा उल्लेख छ ।

प्रचलित कानुनले निषेध गरेका क्रियाकलापको नक्कल वा सेयर नगर्ने, अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने विषयवस्तु प्रसार गर्न नहुने व्यवस्था विधेयकमा छ ।

प्रतिक्रिया