कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको एमाले उपमहासचिव ज्ञवालीको दाबी
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दुई ठुला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलकमा विकासले लय लिन थालेको बताएका छन् ।
एमाले लमजुङद्वारा आज बेँसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रले गति लिनथालेको दाबी गरे। सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका ज्ञवालीको भनाइ थियो ।
मुलुकमा देखिएको सङ्कट समाधान गर्न दुई ठुला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने ज्ञवालीको भनाइ थियो ।
मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग कुनै सम्बन्ध नरहेको उपमहासचिव ज्ञवालीले स्पष्ट पारेका छन् ।
रासस
प्रतिक्रिया