जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।

नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग आज छलफल गरेका हुन् ।

मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि यसअघि दातृ निकायबाट भएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । 

ऊर्जा विकास मार्गचित्रले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रुपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई बलियो बनाउँदै आर्थिक समृद्धिलाई अगाडि बढाउन सहयोग पुग्ने उनकोे भनाइ थियो । 

उक्त मार्गचित्र ऊर्जा सुरक्षा, दिगोपन र समावेशी आर्थिक वृद्धिको ‘रोडम्याप’ भएको मन्त्री खड्काले बताए । जलस्रोतको पर्याप्त सम्भावना भएको नेपालले ऊर्जा क्षेत्रमा लगानीका लागि अतुलनीय अवसरहरू प्रदान गर्ने उनी बताउछन् ।

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको माथिल्लो अरुण जलाशययुक्त आयोजना, एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको दूधकोशी जलाशयुक्त आयोजना समयमै निर्माण हुने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

मुलुकको आर्थिक विकासका लागि निर्माण भएको उक्त मार्गचित्रलाई कार्यान्वयनका लागि विकास साझेदार, अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्था र समुदायलाई मन्त्री खड्काले आग्रह गरे ।

प्रतिक्रिया